काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको स्थायीत्वका बिषयमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।
बुधबार काठमाडौंमा बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरु संगको छलफलका क्रममा अध्यक्ष नेपालले वर्तमान सरकार र सत्तारुढ गठबन्धनका बिषयमा बिभिन्न आशंका गर्ने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन सुझाव दिनुभयो ।
राजनीतिक स्थायीत्व दिनका लागि नै दलहरु मिलेर अघि बढ्ने प्रतिवद्धता गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले पद र अवसरका लागि दलहरु मिलेको भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई चिर्दे जनता र देशलाई केन्द्रीत भएर काम गर्न सक्ने त्यस्ता आरोपहरु आफै हट्ने जिकिर गर्नुभयो ।
उहाँले अहिलेको गठबन्धन निर्वाचनका जनताले दिएको जनादेश अनुसारको रहेकाले मुलुकको समृद्धि र बिकासमा जनताको अपेक्षा अनुसार नै अघि बढ्ने धारणा राख्नुभयो ।
अध्यक्ष नेपालले गठबन्धनभित्र रहेका तीनवटा पार्टीबीच बाममोर्चा बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै उहाँले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन कम्युनिष्टबीचको एकतालाई पनि महत्व दिएको भन्दै कुनै दल सप्रेर मिलेर जानुपर्छ भन्न मान्यताका साथ आए एकता हुन सक्ने बताउनुभयो ।
अध्यक्ष नेपालले विचार, नीति, दृष्टिकोण र भावनामा एकरुपता भए संगै बसेर काम गर्न समस्या नहुने तर कुनै पार्टीमा गएर भने गाभिन नसकिने स्पष्ट पार्नुभयो ।














