नेपालगञ्ज  । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

नवौ राष्ट्रिय महाधिवेशन आयोजक समितिले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै सोमबार चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा एमाले युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय युवा संघको नवौ राष्ट्रिय महाधिवेशनबाट कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्दै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने दावी गर्नुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । 

उहाँले महाधिवेशनले नेतृत्व चयनमात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने जानकारी दिनुभयो ।

महाधिवेशनबाट नेतृत्व चयन सर्वसहमत गर्ने प्रयास भईरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले प्रतिनिधिको चाहना र भावना अनुसार अघि बढ्ने बताउनुभयो । 

महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुने आयोजकले जनाएको छ ।