भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत् मध्य प्रदेशकाे इन्दाेर प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले इन्दाेरमा रहेकाे महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ । 

भ्रमणका क्रममा उहाँले मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दाेर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उहाँले जानकारी लिने कार्यसूची छ ।

फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दाेरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नुहुनेछ । 

शनिवार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले ‘टीसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

बिहीवार हिजाे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्त्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड शनिवार भाेलि स्वदेश फर्कने कार्यक्रम छ ।