मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बँुदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ ।
समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष उपस्थितिमा भएको बैठकमा पालिकाकोबीच सिकाइ आदानप्रदान गरिएको थियो ।
वैठकले सीमान्तकृत सन्थाल समदायको पहिचान र आत्मासम्मानको कदर गर्दै यसअघि लेखिदैँ आएको ‘सतार’ शब्दको सट्टा सन्थाल शब्द प्रयोग गर्ने र नामको पछाडि सम्बन्धित थर नै उल्लेख गर्ने निर्णय गरेको छ ।
झापाका सवै पालिकामा बिषाधीयुक्त सागसब्जी, र आयातित माछा तथा मासुजन्य वस्तुको नियन्त्रण गरिने भएको छ ।
जिल्लामा सवै पालिकाहरुमा विषाधीयुक्त सागसब्जी तथा गुणस्तरहीन माछा मासुको आयातको नियन्त्रणलाई प्रभावकारी बनाउने वैठकले निर्णय गरेको छ ।
उक्त कार्यकालागि खाद्य क्वारेन्टाइन र जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला निकायलाई समन्वय तथा कार्यान्वयनकालागि बैठकले आग्रह समेत गरेको छ ।
साथै उपभोक्ताको अधिकार रक्षा गर्दै खाद्य गुणस्तर कायम गर्न तथा मूल्य नियन्त्रण गर्न बजार अनुगमन नियमित र प्रभावकारी बनाउने समेत निर्णय भएको छ ।
बैठक चिया क्षेत्रका समस्या र त्यसको समाधानमा समेत केन्द्रित रहेको थियो ।
निर्यातजन्य कृषिबाली चिया क्षेत्रको क्षेत्रफल एकिन गर्ने, आवश्यक नीति बनाउने, आवश्यक पर्ने मलखादको कोटा प्रणाली पालिकाबाटै निर्धारण तथा वितरण गर्ने गराउने समेत बैठकले निर्णय गरेको छ ।














