एजेन्सीपाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको र्यालीमा आत्मघाती बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

साथै सयभन्दा बढी घाइते भएका छन् ।अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो ।

विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ ।

2 1


कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् ।

साथै गम्भीर घाइतेहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए ।

बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम–फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ ।

पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार विस्फोटको क्रममा घटनास्थलमा रहेका एक स्थानीय पत्रकार पनि घाइते भएका छन् ।

विस्फोटको समयमा जमियत उलेमा इस्लाम–फजलको कार्यक्रममा ४ सयभन्दा धेरै मानिस भेला भएका थिए ।