काठमाडौं । सूचनाको हकसम्बन्धी अभियानकर्मीले निवेदन दर्ता गर्दा कीर्तिपुर नगरपालिकाले टिकटबापत १० शुल्क लिएको जनाउँदै यसलाई सच्याउन माग गरेका छन् ।


कानुनमा सूचना मागको निवेदन दर्ता गर्दा टिकट टाँस गर्नुनपर्ने र निवेदन दर्ताका लागि शुल्क पनि नलाग्ने व्यवस्था गरेको जनाइएको छ ।

  कीर्तिपुर नगरपालिकाले सूचना माग गरेर निवेदन दर्ता गरेबापत टिकटको भनी १० शुल्क लिने गरेको सूचनाको हकका लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति काठमाडौँका उपाध्यक्ष विनोद बस्नेतले बताए ।


सूचनाको हकको निवेदन दर्ता गर्दा टिकट नचाहिने र तोक पनि लगाउनु नपर्ने कानुनी व्यवस्था छ भनी पटकपटक नगरपालिकाका सूचना अधिकारीलगायत कर्मचारीलाई स्मरण गराउँदा पनि टिकटबापतको शुल्क लिइरहेको उनले गुनासो गरे । 


नगरपालिकाले भने नगरसभाको निर्णयअनुसार नै सूचना मागको निवेदन दर्ता गर्दा पनि १० को टिकटबापत शुल्क लिइएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा नगरसभाको निर्णय कर्मचारीले उल्लंघन गर्न नसक्ने भएकाले सूचना मागको निवेदन दर्ता गर्दा पनि शुल्क लिनुपरेको हो भने ।


नगरपालिकामा वि.सं २०७४ मा जन प्रतिनिधि निर्वाचित भएसँगै सबै प्रकारका निवेदन दर्ता गर्दा टिकटबापत १० दस्तुर लिने निर्णय गरिएको उनले जानकारी दिए ।

यो विषय आगामी नगरसभामा राख्ने गरी तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

यस विषयमा सूचनाको हकका लागि राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलले नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ ।

सूचना मागको निवेदन दर्ता गर्दा टिकटबापत भनी शुल्क नलिन र सूचनाको हकको निवेदन दर्ताका लागि तोक लगाउने नाममा सूचना मागकर्तालाई निरुत्साहित नगर्न पनि अनुरोध गरिएको महाङ्घका केन्द्रीय अध्यक्ष उमिद वागचन्दले बताए  ।


अन्य स्थानीय तहमा पनि सूचना मागको निवेदनमा टिकटबापत शुल्क लिने गरिएको भए महाङ्घमा खबर गर्न उनले आग्रह  समेत गरेका छन्‌ ।