संघीय संसदको जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पनि संसदमा राष्ट्रिय मान्यता प्राप्त दलहरु संग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गरेका हुन् ।
आइतबार पनि प्रमुखदलहरूसँग छलफल गरेका उनले बैठक सकारात्मक भएको जनाउँदै सोमबार सहमतिमा पुग्ने बताएका थिए । बैठकमा सहभागी नेताहरूले पनि छलफल सकारात्मक भएको जनाएका थिए । उनीहरूले सोमबार पुनः बस्ने बैठकमा संसद सुचारु गर्नेमा सहमतिमा पुग्न सकिने धारणा राखेका थिए ।
बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने सकारात्मकता देखिएको बताए ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सञ्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्ने प्रयास हुने बताए ।
सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले १० साउनदेखि संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।














