भरत प्रसाई,बिर्तामोड । युवा नागरिक समाजले अध्यक्षमा केशव भण्डारीसहित ३१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन भएको छ ।

आइतबार झापाको बिर्तामोड स्थित जय ड्रिमल्यान्ड पार्कको सभाहलमा भएको पहिलो साधारणसभामा अध्यक्षमा भण्डारीसहित बरिष्ठ उपाध्यक्षमा डिल्लीराम सुब्बा, उपाध्यक्ष देव संग्रौला, सचिव चेतनाथ निरौला, कोषाध्यक्ष रामचन्द्र मैनाली सहित ३१ सदस्यीय कार्यसमिति निर्वाचन समितिद्वारा सर्वसम्मतले पारित गरेको हो ।

त्यसैगरी पहिलो साधारण सभाले संस्थाको केही विधानहरु पनि संसोधन गरेको छ
जसमा कार्यसमितिको कार्यकाल पाँच बर्ष रहने, अनुशासन समितिको काम, कर्तव्य र अधिकारहरु विधानमा थप, साथै संस्थाको नाम युवा नागरिक समाज झापाको ठाउँमा युवा नागरिक समाज मात्र कायम हुने गरि विधान संसोधन भएको संस्थाका अध्यक्ष केशव भण्डारीले बताउनुभयो ।

लघुबित्त र सहकारीका कारण श्रीमान खाडी मुलक र श्रीमती जंगल पस्नु पर्ने बाध्यता सिर्जना भएको बीएण्डसी अस्पतालका सञ्चालक तथा सामाजसेवी दुर्गा प्रसाईले बताउनु भयो । समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजकी संस्थापक केन्द्रिय सदस्य कविता ओलीले गर्नु भएको थियो ।

कार्यक्रममा सल्लाहकार संयोजक जयनारायण ढुङ्गाना,इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्की, समाजसेवी शेरबहादुर थापा, सल्लाहकार जानुका थापामगर, डा. लक्ष्मीप्रसाद मैनाली, अञ्जना ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रेणु ओडारीले गर्नु भएको थियो ।
युवाहरुको चाहाना, सुशासन युक्त नगरको परिकल्पना’ भन्ने मुल नाराका साथ गठन भएको समाजले एक बर्षको अवधिमा गरेको सुधारका कार्यक्रम सहितको प्रतिवेदन अध्यक्ष भण्डारीले प्रस्तुत गर्नु भएको थियो । संस्था कसैबाट परिचालित नभएको बताउँदै खबरदारीको अभियानलाई शसक्त्त बनाउने बताउनु भयो ।

झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, बाह्रदशी, गौरीगञ्जमा पालिका स्तरीय कमिटी गठन भइसहेको र अन्य पालिकाहरुमा पनि समाजको कमिटी गठन निर्माण हुने अन्तिम चरणमा रहेको प्रतिबेदनमा उल्लेख छ ।














