झापा । बिर्तामोडको पश्चिम स्ट्याण्डमा रहेको अनिल किराना स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु विक्री वितरण भइरहेको भन्ने गुनासो आएपछि बिहीबार अनुगमन गरिएको छ । 

 नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा उजुरी परेपछि बिर्तामोड नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनमा २ किलो कुहिएको छोकडा घाममा सुकाइरहेको फेला परेपछि जफत गरिएको छ ।

अनुगमनमा ३ दिन भित्रमा उपभोक्ताले देखिने गरि मुल्य सूची टांस्ने, तेल, बेसन लगायतका प्याकेटमा उत्पादन मिति स्पष्ट प्रिन्ट गर्न सम्बन्धित उद्योगहरुलाई निर्देशन दिने, प्याकिंग गर्ने खालका खाद्य वस्तुमा खाद्य अनुज्ञा पत्र लिने लगायतका निर्देशन दिएको नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । 

 हेलो सरकारमा अनिल किराना पसलमा म्याद गुज्रिएका र गुणस्तरहिन वस्तु भण्डारण गरि बिक्री वितरण गर्ने गरेको गुनासो परेको थियो । 

 जनहितमा जारी

अनुगमनमा नगर कार्यपालिका सदस्य यमुना आचार्य, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष मदन गोपाल सुव्वा, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिब राजु गौतम लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।