झापा । बहुआयामिक महत्वको बिर्तामोडको बुट्टावारीदेखि प्याकुरेल चोकसम्मको सडकको निर्माण कार्य तीब्र रुपमा भइरहेको छ ।

विश्व बैंकको लगानी ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँ (भ्याटसहित )मा आरपी–साप–समता जेभीले ठेक्का लिएको सो सडकको निर्माण कार्य हालसम्म साढे ६ प्रतिशत भएको निरन्तर अनुगमन गरिरहेका बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए ।

सो सडक ६.२५८ किलोमिटर लम्बाई , १२.५ मिटर चौडाई र २.२ मिटर फुटपाथ हुनेछ ।

पूर्व–पश्चिम राजमार्गलाई बिर्तामोड–भद्रपुर सडकसंग जोड्ने सो सडकको निर्माणबाट सहज आवागमनसंगै कृषि ,व्यवसाय ,पर्यटन क्षेत्रको विकास हुने र हात्ती नियन्त्रणमा पनि सघाउ पुग्ने उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । सो सडकले बिर्तामोड ६ , ७ र ८ नं वडालाई जोड्ने भएको छ ।

बिर्तामोड नगरपालिकाको नगर गौरव आयोजनाअन्तर्गत रहेको नमूना सडक निर्माणलाई तीब्रता दिइएको हो। बिर्तामोड नगरपालिकाका उपप्रमुख संग्रौला र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहितको टोलीले सोमवार सडक निर्माणको अनुगमन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार सडक निर्माणको काम हालसम्म साढे ६ प्रतिशत पुरा भइसकेको छ ।

शिलान्यास भएपछि वर्खायामबाहेक उक्त प्रतिशतमा काम भएको हो । अहिले सो सडक क्षेत्रमा ड्रेन तथा कल्भर्ट निर्माणको काम भइरहेको छ ।

न्यौपानेले सडक क्षेत्रमा सक्रिय ढंगबाटै काम भइरहेको जानकारी दिए। सो सडक २०८१ मंसिर १६ मा सम्पन्न गर्नुपर्नेछ ।