काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार आदेश जारी गर्दै यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा लगायतका आन्दोलन तथा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन्।dao_ktm_4जिल्ला प्रशासन कार्यालयले पद्मोदय मोडदेखि सिंहदरबारको पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निधेषित क्षेत्र घोषणा गरेको छ। यो क्षेत्रमा मंसीर ४ देखि ३० गतेसम्म प्रदर्शन गर्न पाइने छैन।

शान्ति, सुरक्षा तथा सर्वसाधारण नागरिककको सेवा प्रवाहलाई ध्यानमा राखेर आदेश जारी गरिएको जनाइएको छ। जिल्ला सुरक्षा समितिको सिफारिशमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जनाएका छन्।


नेकपा (एमाले) को भातृ संस्था युवा संघ नेपाल र अभियान्ता दुर्गा प्रसाईंले मंसीर ७ गते माइतीघर मण्डलमा प्रदर्शन गर्ने तयारी गरेका थिए। दुवै पक्षले एउटै ठाउँमा प्रदर्शन गर्न लागेपछि स्थानीय प्रशासनले छलफलका लागि बोलाएको थियो।


सोमबार दुवै पक्षसँग भएको छलफलपछि स्थानीय प्रशासनले दुवै पक्षलाई माइतीघर मण्डलमा प्रदर्शन गर्न नदिने निर्णय गरेको थियो। यससँगै मंसीर महीनाभर माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म पनि प्रदर्शनमा रोक लगाएको हो ।