पोखरा । पोखरामा आजदेखि सुरु भएको केपी ओली टी-२० क्रिकेट कप प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आयोजक मदन भण्डारी स्पोर्टस् ऐकेडेमी ‘रातो’लाई १०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

अमर मिश्रको कप्तानीमा रहेको आयोजक मदन भण्डारी स्पोर्टस् ऐकेडेमी ‘रातो’ १८५ रनको लक्ष्य पछ्याउने क्रममा १४.२ ओभरमा ७५ रन बनाउँदै अल आउट भयो ।

उसका लागि अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक १३ रन बनाए ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट, प्रतिश जिसी २, सुभाष खत्रीले ३ विकेट, रिजन ढकालले १ विकेट लिए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगितामा ७ प्रदेशसहित विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिम सहभागी छन् ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । खेलको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।