बिर्तामोड। भरत प्रसाई, मुलुक यही अवस्थामा रहे नागरिकहरु विद्रोहमा उत्रन सक्ने संवाद सचिवालय बिर्तामोडले आयोजना गरेको छलफलमा सहभागी भएका बक्ताहरुले बताएका छन् ।
झापा अगुवा जागरुक समुदायका प्रतिनिधिहरुले नागरिकमा बढ्दो निरासा, आक्रोस, मुलुकको बेथिति समयमै हल नगरे कुनै न कुनै स्वरुपको विद्रोह जन्मन सक्ने दाबी गरेका छन् ।
समस्या समाधानका लागि राजनीतिक दलहरु तत्काल सच्चिएर जवाफदेही बन्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
मानव अधिकार रक्षक परिषद्का प्रदेश उपाध्यक्ष विष्णु खरेलले नागरिकमा असन्तुष्टि, आक्रोस, अन्योलताले अराजकता थपिएको बताउनु भयो ।
अहिले बैंकका प्रबन्धकहरु असुरक्षित रहेको, विकृति रहेको भन्दै खरेलले पहिचानको आन्दोलनलाई सरकारले तत्काल सम्बोधन नगरे अरु आन्दोलन चर्किन बताउनु भयो ।
‘मुलुकको समसामयिक परिस्थिति र निकासको बाटो’ विषयमा संवाद समूह झापाले बिर्तामोडमा गरेको छलफलमा उद्योग बाणिज्य संघ बिर्तामोडका कार्यकारी अध्यक्ष राजु न्यौपानले अर्थतन्त्रको मेरुदण्ड ब्यवसायको ढाड भाचिएकाले राज्यले ठुलो समस्या भोग्नु परेको बताउनु भयो ।
उहाँले पछिल्लो समयमा झापा दुव्यसनको हव बन्दै गएकाले यसको न्युनीकरणका लागि स्थानिय सरकारले कडा कानुन र अनुगमन गर्नु पर्नेमा जोड दिनु भयो ।
वरिष्ठ अधिवक्ता तथा नेपाल कानून आयोगका पूर्व सदस्य लीला उदासीले मुलुक दयनीय र अप्ठेरो अवस्थामा रहेको, जनता निरास र अनिश्चयमा रहेको बताउनु भयो । बेथिति बढ्दै गए विद्रोह जन्मने उदासीको भनाइ थियो, उहाँले दलहरु सच्चिएर अघि बढ्नुपर्नेमा भन्दै कानुन पार्टीबाट निर्देशित हुनु नदिन सबै सजक हुनुपर्ने बताउनु भयो ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालले मुलुकमा भ्रष्टाचार, कुशासन र दण्डहीनता बढेकाले अहिलेको अवस्था आएको बताउनु भयो । उहाँले लोकतन्त्रमाथि दलहरुबाटै खतरा रहेको भन्दै दलप्रतिको वितृष्णा मेट्न र मुलुकलाई निकास दिन केही समय विज्ञहरुको टिमलाई मुलुक चलाउन दिनुपर्ने बताउनु भयो ।
गैरसरकारी संस्था महासंघ झापाका सचिव विजय तिम्सिनाले दलहरुले नागरिकमा विश्वास जगाउन सक्नुपर्ने, विदेशिएको श्रम शक्तिलाई स्वदेशमै रोकेर उत्पादनमा जोड दिनुपर्ने , अहिलेको अवस्थामा नागरिक समाजले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जोड दिनु भएको थियो ।
राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले दलीय गठबन्धन नै बेथितिको कारण रहेको उल्लेख गर्दै अब आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्ने बताउनु भयो । प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले मुलुक संकटउन्मुख भएको, क्याम्पसहरु बन्द हुन थालेको बताउनु भयो ।
पाठकले अहिलेको अवस्था दलहरुप्रतिको निरासाको उपज भएको बताउँदै विधिको शासन कायम गर्नुपर्ने बताउनु भयो ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तोयानाथ दाहालले दलहरुले जनअपेक्षा पूरा नगर्दा अहिलेको अवस्था भोग्नुपरेको भन्दै दलहरुबीच एकता र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे ।
बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आर्थिक संकट झन गहिरिएको व्यवसायीको अवस्था धरासायी भएको भन्दै यस्तै अवस्था रहे उद्योगी व्यवसायी विद्रोहको मनस्थितिमा रहेको बताए ।
पत्रकार महाँसघका झापा शाखाका अध्यक्ष एवं पुवाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी एवं पत्रकार अर्जुन राजवंशीले संयुक्त रुपमा सहजीकरण गर्नु भएको थियो ।
संवाद समूहले बेला बेला राज्यलाई खबरदारी गर्न विभिन्न विषयमा बहस र सम्वाद गर्दै आएको छ ।
संयुक्त आवाजकी अध्यक्ष शिखा खड्का गणेशले यस्तै बेथिति बढ्दै गए राजतन्त्र फर्कन सक्ने दाबी गर्नु भयो ।
सरकार, दलहरु सबै पक्ष मुलुकलाई अहिलेको संकटबाट निकास दिन जिम्मेवार हुनुपर्नेमा उनीहरुको जोड थियो ।














