विदेशमन्त्री जयशंकरले बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल-भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्‌को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए।


राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा अजेन्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए।

उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशंकरसँग आग्रह गरे।


भेटका अवसरमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा निरन्तर सहयोग रहने बताए।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्।