काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन बिहीबार (आज) हुँदैछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो । त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन् ।

नेकपा एमालेले १९ पदमै उम्मेदवार उठाएको छ । गठबन्धनको नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीका एक उम्मेदवार उठाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार खडा गरेका छन् ।

राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन् । निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन् ।

प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुनेछ ।

निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ । मतदान सकिएपछि गणना हुने र बिहीबार बेलुकी नै परिणाम सार्वजनिक हुने आयोगले जानकारी गराएको छ ।