काठमाडौँ ।  नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ ।

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ ।

केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको कार्यक्रम छ । 

जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको नेपाली कांग्रेस ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठुलो दलकारुपमा रहेको छ ।

नेपालमा १०४ वर्षे राणा शासन फ्याँक्ने नेतृत्व गरेको कांग्रेसले ३० वर्षे एकदलीय निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य र २३८ वर्ष पुरानो शाहवंशीय राजतन्त्रको समेत अन्त्य गर्नेमा नेतृत्वदायी भूमिका निभाएको छ । 

नेपालमा राणाशासनविरुद्ध अभियान चल्दै गर्दा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको चार महिनापछि भारतमा रहेका नेपाली युवाहरूको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा प्रथम भेला भएको थियो । जुन भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो । 

राणा शासकबाट प्रताडित असन्तुष्ट नेता सुवर्णशम्शेर राणाको सक्रियतामा २००५ साल साउन १ गते कोलकातामा अर्को भेलाले सोही वर्षको पुस १५ गते कोलकातामै कार्यक्रम गरेर नेपाल प्रजातन्त्र कांग्रेसको गठन गरेको थियो ।

जसको सभापतिमा महेन्द्रविक्रम शाह चयन भएका थिए । त्यसको एक वर्षपछि २००६ साल चैत २७ देखि २९ गतेसम्म चलेको नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त महाधिवेशनले दुई पार्टीबिचको एकता गरी नेपाली कांग्रेसको जन्म भएको थियो । जसले नेपालको प्रजातान्त्रिक इतिहासमा अतुलनीय योगदान पुर्याएको मानिन्छ ।

नेपालमा कांग्रेसले २००७ सालमा प्रजातन्त्र ल्याउन सफल हुँदै २०३६ सालको जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहाली, २०६२र०६३ सालको दोस्रो जनआन्दोलन हुँदै संविधानसभामार्फत संविधान घोषणामा समेत कांग्रेसकै नेतृत्व थियो ।

संविधानबमोजिम निर्वाचन गराउने काममा समेत कांग्रेस नेतृत्व सफल हुँदै आएको छ । हाल संसद्को ठुलो दल कांग्रेस केन्द्र र सात प्रदेशसहित देशभर ३ सयभन्दा धेरै स्थानीय तहको नेतृत्व गरिरहेको छ ।