पाँचथर। पूर्वी पहाडलाई प्रदेश राजधानीसँग जोड्ने द्रुतमार्ग, निर्माणधिन तमोर करिडोर सडक कालोपत्रेका लागि बजेटको समस्या देखिएको छ ।

तमोर करिडोर सडकको मुलघाट–पाँचथर खण्डको १ सय १२ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ ।

गत बर्षको कात्तिकदेखि तीन बर्षमा काम सम्पन्न गर्ने गरी काम भइरहेको उक्त सडक कालोपत्रेका लागि बजेट अभाव भएको तमोर करिडोर अयोजनाले जनाएको छ ।

उक्त सडक कालोपत्रेसम्मको काम ४ अर्ब १६ करोड लागतमा काम सुरु भएको थियो ।

आयोजना प्रमुख प्रदीप निरौलाका अनुसार गत बर्ष कालोपत्रेका लागि सडक स्तरोन्नती गर्न ४८ करोडको काम भएकोमा चालु आर्थिक बर्ष २०८०/८१ मा ५८ करोड रुपैंयाँ बिनियोजन भएको थियो । जसमध्ये ४० करोड रुपैंयाँ पुस मसान्तसम्मका खर्च भइसकेको छ ।

बिनियोजित रकममध्ये अब १८ करोड रुपैंयाँ बाँकि रहेकोमा निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम नै २५ करोड रुपैंयाँ रहेको आयोजना प्रमुख निरौलाले बताए ।