झापा । राज्यको करोडौं बजेट खर्चेर पनि लथालिङ्ग बनेको बिर्तामोडको नेत्र पार्कको मुहार फेर्दै संचालनमा ल्याउन स्वतःस्फूर्त श्रमदान चलिरहेको छ । श्रमदान गर्ने स्थानीयहरुले नेत्रपार्कमा खटेको आज एक साता हुँदैछ ।

६ दिनसम्म करिव ८ सयजनाले स्वतःस्फूर्त श्रमदान गरिसकेका छन् । श्रमदान गरेको छैटौ दिनसम्म आइपुग्दा नेत्रपार्कको मुहार फेरिएको छ । झाडीले ढाकिएको नेत्रपार्क सुन्दर र आकर्षक देखिएको हो ।

बिर्तामोड नगरपालिका ७ नं वडा कार्यालय र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहले माघ ८ गतेदेखि आयोजना गरेको बृहत् श्रमदान अभियानमा स्थानीय क्लब, टोल विकास संस्था, जनप्रतिनिधि, मजदुर, व्यवसायी, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको छ ।

स्थानीय एनवाईसी क्लब, न्युस्टार क्लब, रेखा टोल विकास संस्था, झोलुङ्गे टोल विकास संस्था, सीताराम टोल विकास संस्था, बाह्रघरे टोल विकास संस्था, सिमसार टोल विकास संस्था, सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता रहेको श्रमदानमा बिर्तामोडभरिकै नगरवासीहरुको सहयोग रहेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताउनुभयो ।

उहाँले श्रमदानसंगै खाजा, पानी र रंगरोकनको सामानमा पनि स्वतःस्फूर्त सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो ।