काठमाण्डाै – प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अच्युतप्रसाद मैनालीले सरकारको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा पुँजीगत शीर्षकमा १७ प्रतिशत बराबर मात्रै खर्च भएको विषय उठाउनुभयाे । विभिन्न सडक खण्ड तथा विकास पूर्वाधार आयोजनाको जग्गाको मुआब्जा वितरण गर्नुपर्ने उहाँकाे माग छ ।

सांसद अमरेशकुमार सिंहले पनि विकास निर्माणको काममा सरकारले गति दिन नसकेको र व्यवसायीलाई भुक्तानी नदिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अञ्जनी श्रेष्ठले प्रस्तावित निजगढ–हेटौँडा–भरतपुर विद्युतीय रेल मार्ग निर्माण गर्दा मानव बस्ती र घना आवासीय क्षेत्रमा असर पर्ने देखिएकाले अर्को विकल्प खोजिनुपर्ने बताउनुभयो ।

यस्तै सांसद अब्दुल खानले बर्दियामा बाघको आक्रमणको त्रास रहेको भन्दै नागरिक सुरक्षाको माग गर्नुभयो । सांसद अमनलाल मोदीले सहकारी संस्थाहरू धराशायी हुने क्रम देशभर देखिएको र सहकारी संस्थाका सञ्चालकको बदमासीमा कारण सर्वसाधारणको ठूलो रकम डुब्ने अवस्था देखिएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

यसैगरी सांसद ईश्वरबहादुर रिजालले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने भनी विगतका सरकारले गरेको निर्णय कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्नुभयो । सांसद उर्मिला माझीले राज्यका तीन वटा अङ्ग कार्यपालिका, व्यवस्थापिकामा र न्यायपालिकामा सुशासन र जवाफदेहिता कायम हुन नसकेको बताउनुभयो ।