सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गर्नुभएको छ ।

 

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गर्नुभएको हो ।

बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाई थियो ।

उहाँले राष्ट्रिय सभा अध्यक्षको चयनमा सत्तारुढ दलहरुबीच विवादको विषय नबन्ने जिकिर समेत गर्नुभयो ।