झापा । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलको तर्फबाट उम्मेदवारहरू सार्वजनिक गरिएको छ ।

बिहीबार अतिथि सदनमा आयोजित कार्यक्रमकाबीच उम्मेदवारहरूलाई सार्वजनिक गरिएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत दलका सदस्य स्वतन्त्र व्यावसायिक प्यानलमा आवद्ध छन् ।

सोही प्यानलबाट अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा विशम लिम्बु, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला तथा सह कोषाध्यक्षमा निशा कर्णको उम्मेदवारी घोषणा भएको हो ।

त्यस्तै महिला सदस्यहरूमा चन्द्र भट्टराई र सुस्मा उप्रेती, खुल्ला सदस्यहरूमा शत्रुघन रौनियार, कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राजेश सहनी, गीता चौधरी र आमिर खानको उम्मेदवारी सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उमेश डालमियाले उम्मेदवारहरूको नाम सार्वजनिक गर्नुभयो ।

उम्मेदवारी सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीले परम्परागत ढंगबाट अब बिर्तामोड उद्योग वाणिज्य संघ चल्न नसक्ने भएकाले आफ्नो नेतृत्वको समितिले मात्र अबका दिनमा समय अनुसार काम गर्नसक्ने बताउनुभयो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेदवार राजकुमार घिमिरे राजुले व्यापारीको हकहित र व्यापारी साथमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महासचिव पदका उम्मेदवार कृष्ण पौडेलले स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेदवारले बिर्तामोड उद्योग वाणिज्य संघलाई व्यवसायीहरूको वास्तविक छाता संगठन बनाउने बताउनुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल, राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेल, कोशी प्रदेश सांसद एकराज कार्की, नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्कीलगायत नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत दलका नेताहरूको उपस्थिति थियो ।