ललितपुर (गोदावरी) । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन विपक्षमा बलियो मत देखिएको छ ।

महासमिति बैठकमा थापाले पेस गरेको प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने उल्लेख छ । तर, थापाको प्रस्तावले वर्तमान गठबन्धन नै संकटमा पर्न सक्ने भन्दै अधिकांश महासमिति सदस्यहरूले विपक्षमा मत राखेका छन् ।

जसका कारण उनको प्रस्ताव संशोधनबिनै पारित हुने सम्भावना कमजोर बन्दै गएको नेताहरूले जनाएका छन् ।

 भविष्यमा हुने आवधिक निर्वाचनहरूमा गठबन्धन नगर्ने भनेर अहिले नै संकल्प गरिन नहुने उनीहरूको माग छ ।

कांग्रेसको महासमिति बैठककै बीच मंगलबार प्रधानमन्त्री समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लिएर बैठक स्थलमा थप तरंग उत्पन्न भएको छ ।

प्रचण्डको चाहना विपरीत महासमिति बैठकमा गठबन्धन विरोधी प्रस्ताव आएको र यसले समस्या निम्तन सक्ने भन्दै बैठकमा तीव्र छलफल भइरहेको हो ।