काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसको भर्खर सकिएको महासमिति बैठकबाट ‘माओवादी जनयुद्ध’ आवश्यक नभएको उपसभापति पूर्णबहादुर खड्का नीतिगत प्रतिवेदन पारित भएपछि गठबन्धन सङ्कटमा फसेको छ ।
बिहीबार गृहजिल्ला चितवन पुगेका प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम बेग्लै ढंगबाट अगाडि बढेको अभिव्यक्तिले गठबन्धन संकटउन्मुख भएको स्पष्ट बुझ्न सकिन्छ ।
राष्ट्रिय सभा निर्वाचमा कोशी प्रदेशबाट माओवादीका उम्मेदवार पराजित भएपछि कांग्रेस र माओवादीबिच गहिरिएको अविश्वास कांग्रेस महासमिति बैठकसम्म आइपुग्दा फराकिलो बन्दै गएको पछिल्लो घटनाक्रमले देखाउँछ ।
बुधबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले कांग्रेस दक्षिणपन्थी बाटोमा हिँड्न खोजेको निष्कर्ष निकाल्यो । बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको दाबी नछाड्न अध्यक्ष प्रचण्डलाई खबरदारी गरेका थिए ।














