काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरे पनि पार्टीभित्र विवाद कायमै छ ।
अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १५१ मत छ । यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ ।
राप्रपासँग १४, जनमतपासँग ६, लोसपासँग ४, नेमकिपासँग र राष्ट्रिय जनमोर्चासँग एकरएक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । यद्यपि तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् । टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उनले पनि मत दिन पाउने छैनन् ।