काठमाडौं । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण विभागले बुधबार विशेष अदालतम ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

हुण्डी कारोबारको आरोपमा पक्राउ परेका नरेश अग्रवाल, दीपकश शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मुद्दा दायर भएको हो । राजश्व अनुसन्धान विभागबाट समेत अमेरिकी डलर र नेपाली रुपैयाँको स्रोत नखुलेको भन्दै उनीहरुलाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर चारै जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमा नरेश अग्रवालले ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँको कारोबार देखिएकोले सोही बमोजिम बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

अर्का प्रतिवादी दिवस कार्कीविरुद्ध ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।