झापा- नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले प्रतिनिधि सभा सदस्यका लागि गरिएको उपचुनावमा विजय हासिल गरेसँगै उनको प्रतिनिधि सभाको यात्रा सुरु भएको छ ।

बुवा संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको अकस्मात निधनले केही समय विक्षिप्त बनेका सुहाङले आफू र परिवारलाई सम्हाल्दै बुवाको विरासत सम्हाल्न संसदको यात्रा सुरु गर्न लागेका हुन् ।

इलाम २ बाट उपचुनाव लड्न उनका लागि त्यति सहज थिएन ।

बुवाले राजनीतिक जीवन बिताएको पार्टी नेकपा एमालेले टिकट दिने हो कि होइन भन्ने पनि थियो । यदी पार्टीले टिकट नदिएको भए कुनै अर्को दलमा प्रवेश गरेर भए पनि उपचुनाव लडेरै छोड्ने उनले एक सञ्चार माध्यममा बताएका थिए ।

तर उम्मेदवारको लाम लागेको भए पनि अन्ततः एमालेले उनकै नाम टुंगो लगायो र चुनाव प्रचारका लागि पार्टीका सानादेखि शीर्ष नेतासम्म खटिए ।

अन्ततः भारी मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गरेर इलाम २ लाई प्रतिनिधित्व गर्दै उनी सांसद बनेका छन् ।