काठमाडौं । सरकारले आगामी आर्थीक वर्षको लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने दिन नजिकिइरहेको बेला उद्योगी तथा  व्यापारीको सक्रियता बढेको छ ।

यस क्रममा नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले सत्तारुढ प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई  ध्यानाकर्षण समेत गराएको जनाएको छ ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्व अध्यक्ष एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ एवं चेम्बरका पदाधिकारी टोलीले भक्तपुरको बालकोटस्थित  निवासमा ओलीसँग शुक्रबार भेटवार्ता गरेको हो ।

अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गर्नुपर्ने विषयमा चेम्बरले एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशत सम्मको गिरावट आएको बताए।

शिथिल अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान एवं निजी क्षेत्रको मनोबल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले धारणा राखेका छन् ।