कोशी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा प्रदेशका प्राकृतिक तथा मानवीय स्रोतको अध्ययन, अनुसन्धान तथा उपयोगसम्बन्धी नीति लिइने, योजना, बजेट तथा कार्यक्रमलाई प्रदेशको आवश्यकता तथा राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोगी बनाउन प्रदेशस्तरीय योजना, बजेट तथा कार्यक्रम आवश्यक परिमार्जनसहित कार्यान्वयन गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा प्लास्टिकको प्रयोगलाई न्यूनीकरण र हरियाली प्रवर्द्धन गर्ने, पहाडी क्षेत्रका पानीका मूलको संरक्षण र सम्वर्द्धन गरिने, कोशी प्रदेशलाई धानको बीउ स्रोतको रुपमा विकास गर्ने र माटो तथा मल परीक्षण घुम्ती शिविर सञ्चालन गर्ने उल्लेख छ ।
रैथाने बालीको पहिचान गरी क्षेत्र विस्तारमा जोड दिने, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने, बाली तथा पशुपक्षी बीमालाई प्रवर्द्धन गरिने, अदुवा, अलैँची जस्ता उच्च मूल्य भएका वस्तुको प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने र पशुनश्ल सुधार कार्यक्रमलाई निरन्तरता दिने प्रदेश प्रमुख खापुङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।














