झापाका पालिकाहरूमध्ये झापा गाउँपालिकाको सबैभन्दा कम बेरुजु रहेको महालेखा परीक्षणको प्रतिवेदनले देखाएको छ।

झापा गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिले काम तथा भुक्तानीको प्रक्रियाबारे बुझ्न थालेकाले बेरुजु रकम कम आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले बताउनुभयो।

गाउँपालिका कार्यालयको प्रारम्भिक बेरुजु पनि कम आएको र महालेखा परीक्षकको प्रतिवेदनमा पनि झापाका अन्य पालिकाको तुलनामा कम बेरुजु रकम आएको उहाँले बताउनुभयो।

रकम परिचालन गर्दा कानुनसम्मत नभए त्यो बेरूजु मानिन्छ।नेपालको सरकारी तथा सार्वजनिक रकम परिचालनको सन्दर्भमा बेरुजु भनेको सार्वजनिक आय र व्ययको प्रचलित कानूनी विधि तथा प्रक्रिया पूरा नगर्दा देखिने अनियमित रकम वा तथ्य हो।

प्रचलित कानुन बमोजिम रीत नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गर्दाको रकमकलमलाई लेखा परीक्षकले बेरुजुरकमको रुपमा उल्लेख गर्ने गरिएको छ।

तर कहिलेकाहिँ मानवीय त्रुटीका कारण पनि परिचालन गरिएको रकम बेरुजु देखिने गरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाको भनाइ छ।

 

झापागाउँपालिका कार्यालयले गरेको अध्ययन अवलोकन खर्च, सवारी साधन मर्मत र इन्धनमागरेको खर्चलगायतमा भने महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु देखाएको छ। झापा गाउँपालिकाको हालसम्मको अद्यावधिक बेरुजु ४ करोड ४७ लाख २० हजार रुपैँया रहेको छ ।