शिवसताक्षी– शिवसताक्षी नगरपालिकाले ७२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । मंगलबार कार्यक्रम आयोजना गरी नगरपालिकाले छात्रवृत्ति रकम बाँडेको हो ।

चालु आर्थिक वर्षमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि नौ लाख ९९ हजार ७६० रुपैयाँ छात्रवृत्ति रकम वितरण गरिएको नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताए ।

नगरपालिकाले गणेशमान अध्ययन प्रतिष्ठानका २४ जना, नरबहादुर कर्मचार्य प्राविधिक शिक्षालयका पाँचजना, सतासीधाम बहुमुखी क्याम्पसका १९ जना, विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययनरत ३४ जनालाई छात्रवृत्ति रकम उपलब्ध गराएको हो ।

नगर प्रमुख थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र लेखा शाखा प्रमुख प्रकाश योङहाङले विद्यार्थी, अभिभावक र विद्यालयलाई छात्रवृत्ति रकम एकमुष्ठ प्रदान गरेका हुन् ।