बिर्तामोड । बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला बिर्तामोडमा सम्मानित भएका छन् ।
साहित्य चौतारी, झापाको रजतवर्ष महोत्सव (पच्चिसौँ वार्षिकोत्सव) मा पत्रकार निरौलालाई सम्मान गरिएको हो ।
२११ औँ भानु जयन्तीको अवसर पारेर बिर्तामोडमा आयोजित कार्यक्रममा निरौलालाई साहित्य चौतारी झापाका तत्कालिन सचिव डिकमान विरहीको स्मृतिमा स्थापना गरिएको स्व.डिकमान विरही स्मृति साहित्य चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
पत्रकारिताको माध्यमद्वारा साहित्य, संगीत र कलाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै निरौलालाई सम्मान गरिएको साहित्य चौतारी, झापाका संस्थापक ,संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।
साहित्य चौतारी, झापाका संस्थापक ,संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, संस्थापक, संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली “कलाङ”लगायतले निरौलालाई खादा,माला टीका र सम्मान पत्रसहित नगद पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।
साहित्य चौतारी, झापाका प्रेस सल्लाहकार निरौला विगत दुई दशकदेखि पत्रकारितामा आवद्ध छन् भने उनी कारोबार दैनिकका झापा संवाददाता समेत रहेका छन् ।














