झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियन हाइवे निर्माण तीव्र गतिमा सञ्चालन भइरहेको छ । पूर्वको काँकडभिट्टादेखि लौकहीसम्म १२० किलो मिटरमध्ये अहिले ९.७६ किलोमिटर सडकको स्तरोन्नति कार्य अगाडी बढेको हो ।
‘दुई लेन’ सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यले पूर्व–पश्चिम राजमार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तर वृद्धि गर्दै एसियन हाइवेको रुपमा निर्माण कार्य अगाडि बढाइएकोमा पहिलो चरणमा सडक क्षेत्रमा पर्ने सबै रुखहरू कटान यसअघि नै सकिएको छ । योसँगै यति बेला सडकको नयाँ ट्र्याक बनाउनेदेखि कल्भर्टहरू निर्माण गर्ने कार्य धमाधम अगाडी बढिरहेको छ ।
तीन वर्षमा निर्माण सम्पन्न हुनेगरी रुख कटान सम्पन्न भएसँगै अहिले सडक विस्तारको काम सुरु भइसकेको छ । राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम पनि सकिसकेको काँकडभिट्टा–लौकही सडक योजनाले जनाएको छ ।
एसियाली विकास बैंकको युएसडी ३०० मिलियन तथा नेपाल सरकारको युएसडी ६२.४७ मिलियनको लागतमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक मध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नति कार्य अगाडी बढेको काँकडभिट्टा–लौकही सडक योजनाले जनाएको छ । ३४ अर्ब ९१ करोडको लागतमा निर्माण सम्पन्न हुनेगरी ठेका लागि चार लेनको काम अघि बढेको सडक आयोजना अहिलेसम्म ५।५ प्रतिशत कार्य प्रगति भएको जनाएको छ ।














