सिन्धुली, असोज २२ । काठमाडौंबाट भोजपुरका लागि हिँडेको बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा परेर हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहिचान खुल्यो । अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो ।
घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको बताइएको छ । बस काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान लागेको थियो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले सो बस ६५ लाख रुपैयाँ किनेर चलाउन थालेको महिना दिन पनि नपुगेको बताइएको छ ।