झापा । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज बिहान देशभरिका जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।

व्रतालुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए । भजनकिर्तनसहित रातभर जाग्राम बसेका व्रतालुले आज बिहानै पूजासामग्री र प्रसादसहित उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।

सूर्यको उपासनासहित विधिपूर्वक छठ पर्व मनाउँदा पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

यही विश्वासका साथ सूर्यलाई अर्घ अर्पूण गर्ने श्रद्धालुको पोखरी, नदी, तलाउ लगायतका जलासयमा भीड लागेको थियो ।