१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति निकै नजिक आउँदा अहिले यसको चहलपहल धेरै बढेको छ ।
मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ । त्यसका लागि अहिले आयोजक नेपाल क्रिकेट संघ (क्यान) देखि सहभागि फ्रेन्चाइज टोलीहरु तिव्र तयारीमा छन् ।
खेलाडीहरु मैदानमा प्रशिक्षक गर्ने, अभ्यास खेल खेल्ने देखि पुरस्कार र प्रायोजकको घोषणा हुने क्रम जारी छ । यस्तै विदेशी खेलाडीहरु पनि नेपाल आउने क्रम जारी छ ।
काठमाडौं बाहिर प्रशिक्षण गरिरहेका सबै टोलीहरु काठमाडौं आइसकेका छन् । विराटनगर कंग्स र पोखरा एभेन्जर्सको टोद्यी बुधबार काठमाडौं आइपुगेका छन् ।
बुधबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच अभ्यास खेल पनि भयो । जसमा आसिफ शेख मार्की रहेको जनकपुरले रोहित पौडेल मार्की रहेको लुम्बिनीलाई ९६ रनले हरायो ।
मंसिर १२ गते बुधबार एनपीएलसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । के के भयो बुधबार सबै कुराको संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
विराटनगर किंग्सका खेलाडीको लागि खुशीको खबर । विराटनगरले एनपीएलको उपाधि जितेमा कोशी प्रदेशले नगद ३० लाख दिने घोषणा भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
बुधबार काठमाडौं आउने विराटनगरका किंगसका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
एनपीएलको माहोल यति धेरै बढेको छ कि लिग सुरु नहुँदै विभिन्न किसिमको पुरस्कार घोषणा हुने क्रम जारी छ । तर आयोजक क्यानले भने अझै विजेताले पाउने पुरस्कार घोषणा गरेको छैन ।
मंगलबार मात्रै बेस्ट नेपाली प्लेअरलाई ओमोडाले ६२ लाखको कार दिने घोषणा गरेको थियो ।