झापा, मंसिर १३ । झापाको शताक्षीधाममा धार्मिक पर्यटक लोभ्याउन नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिङ्ग निर्माण भएको छ।यो शिवलिङ्गलाई स्थानीय धार्मिक व्यक्तिले ऐतिहासिक शिवलिङ्ग मान्न थालेका छन्। गोलोक गोवर्धन गौशालाले यो शिवलिङ्ग निर्माण गरेको हो।
नेपालका ५१ वटा जिल्ला र भारतका सिक्किम, दार्जिलिङ,गान्टोकलगायतका ठाउँबाट रुद्राक्ष सङ्कलन भएको गोवर्धन गौशालाले जनाएको छ। योसँगै भारतकै मणिपुर र आसाम राज्यबाट पनि रुद्राक्ष सङ्कलन भएको छ । गौशालाका अनुसार भुटान, बर्मालगायतका मुलुकबाट पनि रुद्राक्ष संकलन भएर आएको थियो ।
गएको असार ३ गते अर्थात् असारको निर्जला एकादशीका दिनदेखि निर्माण सुरु भएको यो शिवलिङ्ग १५१ दिनमै निर्माण भइसकेको बताइएको छ । गौशालाका अनुसार मंसिर १७ गते यो शिवलिङ्गको भव्य धार्मिक सभाका बीच उद्घाटन हुनेछ । उद्घाटनका लागि नेपाल भारतलगायत अन्य मुलुकका सयौं धार्मिक व्यक्तित्वको शताक्षीधाम क्षेत्रमा आवागमन हुन थालेको छ।
गौशालाले दिएको जानकारी अनुसार शताक्षीधाम परिसरमा निर्माण भएको ऐतिहासिक शिवलिङ्गको चतरा धामका पिठाधिपति बालसन्त मोहनशरण देवाचार्यजी महाराजले अनावरण गर्ने कार्यक्रम छ।
गौशालाका अनुसार नेपालका जिल्लाबाट सङ्कलन गरिएका रुद्राक्षक खरिद गरिएका हुन् भने भारत लगायत अन्य मुलुकबाट आएका रुद्राक्ष गौशालाले सौजन्य प्राप्त गरेको हो।
फलामको पातालाई बंग्याएर ५१ फिट अल्गो फ्रेम बनाइएको छ। त्यो फ्रेमलाई रुद्राक्षको मालाले छोपिएको छ । हेर्दा निकै आकर्षक देखिन्छ । यो शिवलिङ्ग नेपालमै पहिलोपटक निर्माण भएको हो।
श्री गोलोके गोवर्धन गौशाला शताक्षीधाममा निर्माण भएको गोरक्षा महोत्सव २०८१ विशेष आकर्षण रुद्राक्ष नै रुद्राक्षको शिवलिङ्ग निर्माण गर्न सकेकोमा आफूलाई गर्व लागेको गौशालाका संरक्षकसमेत रहेका आचार्य श्री नन्दकिशोरजी महाराजले बताए। ’शिवलिङ्ग निर्माणमा गौशालाको १७ लाख २० हजार १ सय ५ रुपैयाँ खर्च भएको छ ’ गौशालाका अध्यक्ष नन्दकिशोरजी महाराजले भने ।
यो शिवलिङ्ग सरकारको योजनामा रहेको पर्यटन वर्ष २०८२ का लागि पनि निकै आकर्षक मानिने बताइएको छ। सरकारको घुम्नयोग्य धार्मिक तथा पर्यटकीय क्षेत्र शताक्षीधाम पर्छ वा पर्दैन तर गौशालाले निर्माण गरेको यो शिवलिङ्ग ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने शताक्षी धाम मन्दिर तथा धार्मिक पर्यटकीय विकास संस्थाका उपाध्यक्ष उदय प्रकाश राईले बताए । उनले भने ’यो शिवलिङ्गले शताक्षीधाम क्षेत्रको शोभा दिएको छ।’














