कनकाई । चन्द्र बस्नेत,कनकाई ब्यूरो प्रमुख, झापाको कनकाकाई नगरपालिका वडा नम्बर ३ को वडा समितिले हालसालै घटेको घटना तथा जनगुनासोलाई ध्यान गर्दै दुई निर्णय गरी सार्वजनिक गरेको छ ।
सुरुङ्गास्थित वडा कार्यालयमा कार्यवहाक वडाध्यक्ष गोबिन्द सुवेदी, कर्यपालिका सदस्य कृष्णमाया भुजेल र वडा सदस्य सुश्मा परियारले पत्रकार सम्मेलन गरी आज (बिहीवार) निर्णय सार्वजनिक गरेका हुन् ।
केही दिन अघि सामाजिक तथा धार्मिक सद्भाव बिथोलिने गरी नेपालको संविधान २०७२ को मर्म भावना विपरित कनकाई–३ स्थित टप्पु चौकमा भएको गौहत्याले नगरवासीको मनमा आक्रोस र असुरक्षाको स्थिति उत्पन्न भएको जनाउँदै कनकाई–३ का सम्पूर्ण घर बहाल लगाउने घरबेटीहरुलाई आफ्नो घरमा भाडामा बस्ने सवै डेरावासीको परिचय खुल्ने प्रमाण पेश गर्नु पर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
जसमा नेपालीका हकमा नागरिकता प्रमाण पत्र वा जन्मदर्ता प्रमाण पत्र र विदेशीको हकमा आधार कार्ड वा राहादानीको फोटोकपी राखेर ३५ दिन भित्र विवरण बुझाउन सुचित गर्ने निर्णय गरिएको कार्यवहाक अध्यक्ष सुवेदीले जानकारी दिनुभयो।
यसैगरी सुरुङ्गा बजार क्षेत्रमा जथाभावी रुपमा अव्यवस्थित तरिकाले केबल झुण्डिरहेको र दैनिक रुपमा केबल तारका कारण सवारी बस लरी तथा ट्रक अल्झिने र दुर्घटना हुने गरेको पटक–पटक जनगुनासो आउने गरेको वडा कार्यलयले जनाएको छ ।
सोही अवस्थालाई मध्येनजर गर्दै शहर बजारको सौन्र्दर्यता कायम राख्न र सम्भावित दुर्घटनाबाट बच्न सुरुङ्गा क्षेत्रमा केवल नेटवर्क कम्पनी सञ्चालन गर्ने व्यवसायीहरुलाई छलफलका लागि १५ दिन भित्रमा वडा कार्यालयमा बोलाउने निर्णय गरिएको वडाध्यक्ष सुवेदीले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । पत्रकार सम्मेलनको सहजीकरण वडासचिव कमल भण्डारीले गर्नुभएको थियो ।