हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र ल्याब सेवा प्रदान गर्न थालेको छ ।
स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहित गराउने उद्देश्यले हल्दिबारीले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो ।
“स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रेरित गराउन पनि कार्यक्रम शुरु गरेका हौं”, उहाँले भन्नुभयो, “विपन्न नागरिकलाई यसले धेरै राहत मिलेको छ ।”
गाउँपालिकाले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम अन्तरगत आठ पटक नियमित गर्भ जाँच गराउने महिलालाई रू दुई हजार प्रोत्साहन रकम दिने गरेको छ ।
त्यस्तै, पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा दिनुका साथै पालिका बाहिर ५० प्रतिशत छुट दिने गरेको छ भने निःशुल्क ल्याब सेवा दिने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश खतिवडाले बताउनुभयो ।
गएको आर्थिक वर्ष २०८०र०८१ मा दुई सय २१ जना महिलाले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम अन्तरगत रू चार लाख २९ हजार आठ पाएका छन् ।
गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ । गत आर्थिक वर्ष २०८०/ ०८१ म ७१ जनालाई रू पाँच लाख २८ हजार आर्थिक सहायता प्रदान गरिएको छ ।
विभिन्न स्वास्थ्य समस्या भएका पालिकाबासीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरी उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ ।
चालू आव २०८१र ०८२ को हालसम्म कोषमार्फत् १६ जनाले रू एक लाख पाँच सय पाएका छन् ।