तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ ।

प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ ।

 मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ ।

विसं २०७४ देख निर्माण सुरु भएको चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ । चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा रु दुई करोड बढी खर्च भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए ।

आन्तरिक मात्र नभएर बाह्य पर्यटकको चासोको केन्द्रका रूपमा पार्क स्थापित भइरहेको प्रवक्ता खड्काले बताए । उनका अनुसार देशभित्र मात्र नभएर सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीनलगायत देशबाट अवलोकनका लागि आउने गरेका छन् ।

पर्यटकलाई पार्क अवलोकनका लागि रु ५० र सङ्ग्रहालय अवलोकनका लागि रु १०० शुल्क लिने गरिएको छ ।

पार्क घुम्न आउने पर्यटकबाट मात्र गत वर्ष रु १४ लाख राजस्व सङ्कलन भएको छ ।