बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पुरक मुद्धा दर्ताका लागि आइतबार जिल्ला अदालत रुपन्देहीमा लगिदै छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारवाही र बिगो माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले अदालतमा पूरक मुद्धा लैजान लागिएको हो । 


यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अदालतमा पूरक मुद्धा लैजान नसकेको जनाएको थियो ।

आइतबार भने कार्यालय खुलेपछि लामिछाने र जोशी लगायतको मुद्धा अदालतमा लैजाने जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताउनु भयो । 

यसअघि लामिछाने र जोशीसहित १४ जना विरुद्ध पूरक मुद्धा लैजाने भनिएकोमा केही व्यक्तिहरु थप हुने बताइएको छ । 

 जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ साल वैशाख ३ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।