काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ७५ दिनसम्म टिकटक प्रतिबन्ध गर्ने कानुन कार्यान्वयन नगर्न आदेश दिएका छन् । सोमबार शपथ लिएपछि एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले टिकटक बिक्री गर्न बाध्य पार्ने कानुन तत्काल लागू नगर्ने निर्णय लिएका हुन् ।
निवर्तमान राष्ट्रपति जो बाइडेनले गत वर्षको अप्रिलमा यस सम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । जसमा टिकटकको मालिक कम्पनी बाइटडान्सलाई आफ्नो हिस्साको धेरैजसो शेयर बिक्री गर्नुपर्ने, अन्यथा अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने उल्लेख छ ।
यो नियम आइतबारदेखि लागू भए पनि बाइडेन प्रशासनले कार्यान्वयन नगर्ने बताएको थियो । ट्रम्पले पनि सोही नीति लिँदै नयाँ आदेश जारी गरेका छन् ।
अमेरिकामा टिकटकलाई पुनः अनलाइन ल्याउन मद्दत गर्ने कुनै पनि अमेरिकी कम्पनीमाथि कारबाही नगरिने आदेशमा उल्लेख छ । ती कम्पनीहरूलाई महान्यायाधिवक्ताबाट पत्र प्राप्त हुनेछ, जसमा उनीहरूले कुनै कानुन उल्लङ्घन नगरेको र उनीहरूमाथि कुनै कानुनी जिम्मेवारी नहुने भनिनेछ ।














