बिर्तामोड।  बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. ५ धर्मकाटा रोडमा सञ्चालन भइरहेको एपोलो पेन्ट्स  बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हरेक दिन हुने बिभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरुले अवलोकनकर्ताको ध्यान खिँचेको छ ।

महोत्सवस्थको स्टेजमा नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्को समन्वयमा हरेक दिन झापाका बिभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरुले महोत्सवमा आउने दर्शकको ध्यान आकर्षित गरिरहेका छन् ।

यसैक्रममा नेवाःदेय् दबू बिर्तामोड नगरसमितिको आयोजनामा महोत्सवस्थलमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेवाःदेय् दबू बिर्तामोड नगर अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षता तथा नेवाःदेय् दबू राष्ट्रिय परिषद् सदस्य भरत श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जंगबहादुर श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेवाःदेय् दबू कोशी प्रदेश सचिवालय सदस्य ओमप्रकाश श्रेष्ठ , झापा जिल्ला निवर्तमान वरिष्ठ उपाध्यक्ष तीलरुपा श्रेष्ठ,नेपाल आदीवासी जनजाती महासंघ बिर्तामोड नगर अध्यक्ष राजकुमार राजवंशीलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महोत्सव मूल आयोजक समितिका संयोजक विशाल थापा, नेपाल आदीवासी जनजाती महासंघ बिर्तामोड नगर उपाध्यक्ष जीवन श्रेष्ठ, सचिव सन्तोष वेघा, भरत उदास, केशव ताम्राकार, गणेश शाक्य , नेवाःदेय् दबू बिर्तामोड नगर समिति अन्र्तगत १० वटै वडाका प्रतिनिधीहरुलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेवारी समुदायले जातीय भेषभूषामा सजिएर प्रस्तुति प्रर्दशन गरेका थिए । प्रतिकुल मौसमका वावजुत पनि आफ्नो संस्कृति जोगाउन महोत्सव स्थलमा विविध प्रस्तुति राखेको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महोत्सव मूल आयोजक समितिका संयोजक विशाल थापाले नेवाःदेय् दबू बिर्तामोड नगरसमितिको प्रशंसा गरेका छन् । कार्यक्रमको सञ्चालन नेवाःदेय् दबू बिर्तामोड नगरसमितिका सचिव दिलिप प्रधानले गरेका थिए ।