झापा, २ फागुनः झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल बनेको हो । उहाँले पुल निर्माण सम्पन्न भएसँगै पहुँच मार्ग विस्तारको काम भइरहेको बताउनुभयो ।

विसं २०८१ असार १७ गते सम्पन्न हुनेगरी देव एण्ड सायर/समता/आशिषदीप जेभीसँग विसं २०७९ पुस १७ गते रु २२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त कम्पनीले अघिल्लो निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको पुल निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी पन्तका अनुसार पहिलोपटक आर्थिक वर्ष २०६४/६५ मा कालिका–ओसिए जेभीले रु १० करोड ३२ लाखमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । तीन सय ४८ मिटर लम्बाइ रहेको सो पुल दुई सय चार दशमलव आठ मिटर मात्रै निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो ।

 जनहितमा जारी

“पुल निर्माणपछि सवारीसहित आवतजावत सुरु भएको छ”, उहाँले भन्नुभयो, “सम्भवतः यही महिनाभित्र पहुँच मार्ग निर्माणपछि पुल सञ्चालन सहज रूपमा हुन्छ ।” पुलको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण पनि भइरहेको छ ।

उहाँले कनकाइ खोला पुल निर्माणसँगै पूर्वको मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सहज रूपमा सञ्चालनमा आउने बताउनुभयो । ठेकेदारको लापरवाहीले सो पुल निर्माणमासमेत ढिलाइ भइरहेको छ ।