बिर्तामोड, झापा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। आजदेखि सुरु भएको शिविर भोलिसम्म सञ्चालन हुनेछ।


बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि सडक किनारमै सञ्चालन भइरहेको शिविरमा श्रमिक, सवारी चालक, सहचालक तथा सर्वसाधारणले स्वास्थ्य परीक्षण गराइरहेका छन्। प्राविधिक सहयोगी संस्थाको सहकार्यमा सञ्चालित शिविरमा विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिरहेका छन्।

84a392c4-5d78-4e31-8e7e-2c8bdb946622

शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिफण्ट केन्द्रीय समिति सदस्य सन्तकुमार राई थिए। विशिष्ट अतिथिहरूमा नेपाल यातायात मजदुर संगठनका केन्द्रीय उपमहासचिव देवी प्रसाद भट्टराई, कोशी प्रदेश समिति सह–सचिव हरि अधिकारी, बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई, बिर्तामोड वडा नं ३ का सदस्य हरि प्रसाद बास्कोटा, अर्जुनधारा नगरपालिका वडा नं.११ का सदस्य केशव अधिकारी, अतिथि किरण तामाङ र जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेल लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।


कार्यक्रमका प्रमुख अतिथि सन्तकुमार राईले यस्ता स्वास्थ्य शिविर राज्यले नै सञ्चालन गर्नुपर्नेमा जोड दिँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड कमिटीलाई श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए।


जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेलले यस्ता शिविरले सवारी चालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन मद्दत गर्ने बताए।

उनले चालकहरू धेरै व्यस्त हुने भएकाले सडक किनारमै स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुले शिविरलाई अझ प्रभावकारी बनाउने उल्लेख गरे।



शिविरमा आउने बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवाले धेरै लाभ पुगेको बताएका छन्। आयोजक संस्थाले श्रमिक वर्ग तथा सर्वसाधारणलाई भोलिसम्म सञ्चालन हुने शिविरमा सहभागी भई निःशुल्क सेवा लिन आग्रह गरेको छ।


शिविरको अध्यक्षता इकाई अध्यक्ष सागर खानले गरेका थिए भने कार्यक्रम सञ्चालन बिर्तामोड नगर कमिटी सचिव धनबहादुर गिरिले गरेका थिए।