काठमाडौँ, असार १४ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ सालको परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये  दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन् । एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन् । 

यस पटकको नतिजा पछिल्लो वर्षको तुलनामा उच्च उत्तीर्ण दर हो । गत वर्ष  एसइईमा ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

अहिलेको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले धेरै हो । यस पटक एसइईमा न्यूनतम ७० प्रतिशत परीक्षार्थी उत्तीर्ण गराउने गरी सरकारी तयारी थियो । ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको उत्तीर्ण प्रतिशतलाई समेत आधार मानेर गणना गर्ने हो भने सरकारी लक्ष्यभन्दा पनि बढी उपलब्धि हुने देखिन्छ । 

शिक्षाविद्हरूले समेत नतिजामा सुधार हुनु सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल एफ एजुकेसनका डिनसमेत रहनुभएका शिक्षाविद् प्राडा बालचन्द्र लुइटेलले अहिलेको नतिजालाई राम्रो मान्नुपर्ने बताउनुभयो  तर अझै पनि परीक्षार्थीको सिकाइलाई भन्दा पनि नतिजालाई मात्रै प्राथमिकता दिने सोचमा भने परिवर्तन हुनुपर्ने शिक्षाविद् लुइटेलले बताउनुभयो । 

यो व्यवस्था गर्त वर्षदेखि लागु गरिएको हो ।  पहिलो पटक लागु गरिएका कारण गतवर्ष धेरै परीक्षार्थी अनुत्तीर्ण भएको र सोही अनुत्तीर्ण दरलाई हेरेर विद्यार्थीमा पढ्ने बानीको समेत विकास हुँदा नतिजा अहिले सुधारिएको बोर्डको विश्लेषण छ । 

परीक्षामा कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी थिए, जसमध्ये बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार उच्च अङ्क ल्याउनेलाई जिपिए ३.६० देखि ४ सम्म र सबैभन्दा कम ल्याउनेलाई एनजीसहित सात समूहमा राखेर नतिजा प्रकाशन गरेको छ । 

बोर्डका अनुसार जिपिए १.६० देखि २ भन्दा कम– ८ जना, जिपिए २ देखि २.४० भन्दा कम– ४,१२६ जना, जिपिए २.४० देखि २.८० भन्दा कम– ४८,४७९ जना, जिपिए २.८० देखि ३.२० भन्दा कम– ८९,१२४ जना, जिपिए ३.२० देखि ३.६० भन्दा कम– ८१,३८५ जना, जिपिए ३.६० देखि ४ सम्म– ४८,१७७ जनाले ल्याएका छन् ।