काठमाण्डौ – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलासय सफाइको काम शुरू भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

दोलखाको बिगु गाउँपालिका १ मा रहेको जलाशय अहिले बिहानदेखि भरे बेलुकी ८ बजेसम्म सफाइ गरिने भएको हो ।

सफाइका क्रममा नदीमा पानीको सतह घटबढ हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जलविद्युत केन्द्रहले आग्रह गरेको छ ।

आज दिनभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता काम नगर्न भनिएको छ ।

केन्द्रले लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो