काठमाडौँ । जेनजी समूहको नेतृत्वकर्ता मिराज ढुङ्गानाले आन्दोलनबाट आएकाहरूलाई समेटेर मन्त्रिमण्डल बन्नुपर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै ढुङ्गानाले भने,'सडककाे आगाे मन्त्रिमण्डलमा समावेश हुनैपर्छ' ।
यस्तै उनले विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चित नभएसम्म फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जान नसकिने समेत बताए ।
उनले भने,'विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चित हाम्रो बटमलाइन हो, यो विषयमा सम्बोधन नभएसम्म निर्वाचनमा जान सकिँदैन ।'
गत भदौ २३ र २४ गते जेनजी समूहले बेथितिविरुद्ध गरेको आन्दोलनमा ७८ जनाको मृत्यु भएको थियो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।














