बिर्तामोड ।

हरेक वर्ष दशैंतिहार आउँदा मादल मर्मत र निर्माणमा व्यस्त रहने बाह्रदशी–६ का कृष्ण दास (स्थानीयमा ‘कृष्ण मादले’ भनेर परिचित) यसपालि भने फुर्सदिला बनेका छन्। मादल बनाउन र मर्मत गर्न आउनेहरूको संख्या घटेपछि उनको घर–आँगन यो सिजनमा सुनसान बनेको छ।

१८ वर्षको उमेरदेखि मादल बनाउँदै आएका ४२ वर्षीय दासका अनुसार यो पेशा तीन पुस्तादेखि उनको परिवारको पहिचान बनेको हो। उनका हजुरबुबा शिव दास र बुबा भक्त दासले सुरू गरेको कामलाई उनले निरन्तरता दिँदै आएका छन्।

तर यस वर्ष दशैं–तिहार नजिकिँदा पनि काम सुस्त छ। “मान्छेहरू अहिले कला–संस्कृतिबाट टाढिँदै गएका छन्, आन्दोलनले पनि असर पारेको हुन सक्छ,” उनले बताए।

दास परिवारले वर्षेनी ३ सय हाराहारी मादल, ढोल, च्याब्रुङ बनाउने गर्छ। तर यस वर्ष २५ प्रतिशत पनि काम नआएपछि उनी चिन्तित छन्।

 जनहितमा जारी

मादल मर्मतको काममा कृष्णकी श्रीमती पनि सघाउँछिन्। उनी भन्छन्, “मादल अनुसार खरी फरक हुन्छ, त्यसैले सधैं ध्यान दिनुपर्छ।” अधिकांश सामग्री भारतबाट ल्याउनुपर्ने बाध्यताले खर्च बढेको पनि कृष्णको भनाइ छ।

कक्षा ६ सम्म अध्ययन गरेका कृष्णले एकातिर खरी लगाएको मादलको ६ सय र तालसहितको १२ सय रुपैयाँ लिने गर्छन्। वार्षिक करिब डेढ लाख आम्दानी गर्ने उनले स्थानीय वा कुनै तहको सरकारबाट कहिल्यै सहयोग नपाएको गुनासो गरे।

इनरुवासम्म पुगेर विभिन्न समुदाय — राजवंशी, सन्थाल, राई, लिम्बु लगायतका बाजा मर्मत गर्ने उनले सुनाए। वर्खामा मादल मर्मत नगर्ने परम्परा रहेको उनले बताए।

“यो हाम्रो पुर्खाको सीप हो,” कृष्णले भने, “तर अहिले संस्कृति र सीप दुबै संकटमा छन्।”