महेन्द्रनगर, धनुषा । मिथिलाञ्चलमा आजदेखि सूर्य उपासना तथा आत्मशुद्धिको पर्व छठ औपचारिक रूपमा सुरु भएको छ।
जनकपुरधामका प्रमुख घाटहरू गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीमा सरसफाइ र सजावटको काम तीव्र रूपमा भइरहेको छ।
गङ्गासागर छठ समितिले घाटमा पण्डाल र झिलीमिली बत्तीको व्यवस्था अन्तिम चरणमा पुर्याएको छ। समितिका अनुसार यो वर्ष प्रतिअघ्र्य शुल्क रु ६०० निर्धारण गरिएको छ। घाटमा तीनवटा समितिहरूले सरसफाइ, बत्ती र सजावटको जिम्मा लिएका छन्।
अरगजासरमा समितिले दशैं सकिएलगत्तै तयारी सुरु गरेको छ। यहाँ हिन्दू समुदायसँगै मुस्लिम समुदायका व्यक्तिहरूले पनि सहकार्य गर्दै आएका छन्। घाटमा अघ्र्य राख्ने श्रद्धालुहरूबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरिँदैछ। सुरक्षाका लागि स्थानीय प्रशासन र प्रहरीको समन्वयमा आवश्यक व्यवस्था मिलाइएको छ।
मिथिलाञ्चलका बजारहरूमा बाँस र माटोका सामग्रीहरूको बिक्री बढेको छ। घैँटो, टोकरी, नाङ्लो, कनसुपती र माटोका हात्तीको माग उच्च छ।
स्थानीयहरूले आफ्नै खेतबारीमा उत्पादन भएका गहुँ, चामल र धानको पिठोबाट पकवान तयार पार्न सुरु गरेका छन्।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज ‘नहाय–खाए’ मनाइँदैछ। दोस्रो दिन आइतबार ‘खरना’ विधि अन्तर्गत उपवास बसिनेछ। सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पर्व समापन गरिनेछ।
जनकपुरधाम र आसपासका क्षेत्र अहिले धार्मिक उत्सवले उज्यालो बनेका छन्।













