बिर्तामोड । समस्याग्रस्त बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्था लि। ले आगामी १५ दिनभित्र ऋण संकलनमा ठोस प्रगति गर्ने योजना अघि सारेको छ। आज संस्थाको कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले दुई साताभित्र ठूला ऋणीहरूको घरघरमा पुगेर रकम संकलन गर्ने निर्णय गरेको हो।
बैठकका अनुसार संस्थाका सचिव एवम् ठूला ऋणी हिमाल प्रसाईले आफ्नो समस्या र समाधानका उपायबारे राखेको छलफलपछि सो निर्णय गरिएको हो। प्रसाईले संस्थाको व्यानर प्रयोग गरी छलफल आयोजना गरेपछि, सञ्चालक समितिले उनलाई स्पष्टीकरण माग्दै धितोबापत राखिएको सम्पत्तिको यथार्थ विवरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए।
राउतका अनुसार, “प्रसाईले राखेको धितो सम्पत्ति विक्री गर्न सक्ने वा नसक्ने विषयमा स्पष्टता ल्याउन हामीले तीन दिनको समय दिएका हौं।” बैठकमा ११ मध्ये ७ जना सदस्य उपस्थित थिए।
संस्थाले आइतबारदेखि ठूला ऋणीहरूको घरघरमा पुगेर रकम संकलन अभियान सुरु गर्ने पनि निर्णय गरेको छ।
बैठकका सदस्यहरूले जानकारी दिँदै भनेका छन् कि केवल ३–४ जना ठूला ऋणीहरूले ऋण चुक्ता गरेमा संस्थाले अधिकांश बचतकर्तालाई रकम फिर्ता गर्न सक्ने अवस्था आउनेछ।
त्यस्तै, बैठकले ऋणीहरूले धितो राखेको सम्पत्ति पञ्जिकृत मूल्याङ्कनका आधारमा खरिद गर्ने निर्णय पनि गरेको छ।
अध्यक्ष राउतका अनुसार, “अब ऋणीले मनलाग्दी मूल्य तोक्न पाउने छैनन्, हामी पञ्जिकृत मूल्यकै आधारमा हिसाब मिलाउनेछौं।”
सचिव एवम् ऋणी प्रसाईको उपस्थितिमा भएको छलफलमा बचतकर्ताहरूले ऋणीहरूको विवरण सार्वजनिक गर्न माग गरेका थिए। सो मागका सन्दर्भमा बैठकले निर्णय गर्दै भनिएको छ — बचतकर्ताले लिखित निवेदन दिएमा संस्थाले ऋणीहरूको विवरण उपलब्ध गराउनेछ।













